छाप

मैले एउटा भयानक सपना देखेँ। म सपनाबाट खासै त्यति अचम्बित हुन्न, तर म यस्तो भयानक सपना देख्ने साहस कसरी पाउँछु भन्ने कुरामा अचम्बित छु, जो आफै एउटा ज्ञानी र आदर्णीय नागरिकमा पर्छु, जो हाम्री प्रिय पीडित आमा सर्बियाको आज्ञाकारी सन्तानमा पर्छु, अरु सन्तानहरु जस्तै। तिमीलाई अवश्य थाहा छ कि, यदि म कुनै कुरामा अपवाद भएको भए, यो कुरा फरकै हुन्थ्यो, तर मेरो प्रिय साथी यो होइन, म ठ्याक्कै अरुले जस्तै काम गर्छु र सबै काम सावधान भएर गर्ने कुरामा मलाई खासै कसैले पनि नभेटाउला। मैले एकचोटी सडकमा प्रहरी पोशाकको चम्किलो टांक देखेँ, लगभग छुट्टिनै लागेको ठाउँमा र त्यसको जादुइ चमकलाई घुरिरहें जुन मिठो सम्झनाले भरिपुर्ण थियो। तब अचानक मेरो हात काम्न थाल्यो र सलाम ठोक्यो, मेरो शीर त्यसै धर्ती तिर झुक्यो र मेरो ओँठमा मिठो मुस्कान छायो जुन मुस्कान हाम्रा अग्रजहरुलाई अभिवादन गर्दा छाउँछ।

– मेरा नसाहरुमा कुलीन रगत बग्दछ – यही त हो – मैले त्यो क्षण यही भन्ठाने र त्यो टांकलाई लापरवाहीले कुल्चिएर जाने राक्षसी बटुवाहरुलाई तिरस्कार पूर्वक हेरें।

– ए राक्षस! – मैले यो तीतोपनसंग बोलेँ र थुकें, र चुपचाप हिड्न थालेँ, आफ्नो सोचलाई सान्त्वना दिएँ कि यस्ता राक्षस यहाँ थोरै छन् ; र म खासमा खुसी थिएँ की भगवानले मलाई परिष्कृत हृदय र हाम्रा पूर्वजहरूको कुलीन, प्रतिद्वन्द्वी रगत दिनु भएको थियो।

लौ, अब तिमी बुझ्न सक्छौ की म कति अद्भुत मान्छे हुँ, जो अरु सम्मान्नीय नागरिकहरु भन्दा फरक छैन र यस्मा कुनै शंका छैन तिमी अच्म्बित हुनेछौ कसरी यस्त्तो भयानक र मूर्ख कुराहरु मेरो सपनामा देखा पर्न सक्छ।

त्यो दिन मलाई केहि असमान्य भएको थिएन। मेरो राम्रै रात्री भोजन भयो र पछि फुर्सदमा दाँत कोटाउँदै बसेँ; अलि अलि मदिरा पिउँदै, अनि यस्तो साहसी र इमान्दारी पूर्वक आफ्नो नागरिक हुनुको अधिकार प्रयोग गर्दै म आफ्नो ओछ्यान तिर गएँ र छिट्टै निदाउनको लागि किताब लिएँ।

मेरो हातबाट किताब चाँडैनै चिप्ल्यो, अवश्य नै, आफ्ना चाहनालाई सन्तुष्ट बनाई, आफ्ना कर्तब्य निभाई, म निर्दोष भेडा जसरी मस्त सुतेँ।

एकैचोटी मैले पहाडहरु मार्फत गईरहेको साँघुरो, हिलो सडकमा आफुलाई पाएँ। त्यो चिसो, अन्धकार रात। सुकेका हाँगाहरु बीच बतास कराउँछ र जब यी नांगा छालामा ती बतासले स्पर्स गर्छ तब छुरा जसरी काट्छ। पुरै कालो, सुनसान र तर्साउने आकाश र धुलो जस्तो हिउँ, आँखाभित्र पसिरहनी र अनुहारलाई हानिरहनी। कहिँ पनि कुनै जीवित आत्मा देखिदैन। म हतारिन्छु तर हरेकपल्ट म त्यो हिलो सडकमा कैले दायाँ त कैले बायाँ चिप्लिन्छु। म ठक्कर खाँदै लड्दै आफ्नो बाटो गुमाउँछु, म अल्मलिन्चु – यो भगवान जानुन म कहाँ छु – यो कुनै छोटो र सामान्य रात थिएन, एउटा सताब्दी झैं लामो थियो, आफु कहाँ छु केहि थाहा नभई हरेक समय हिड्दै थिएँ।

यसरी नै म धेरै वर्ष निरन्तर हिडेपछि कहिँ आइपुगें, आफू जन्मिएको देशभन्दा टाढा, निकै टाढा, यो संसारको एउटा अन्जान भागमा, अनौठो भूमिमा। लाग्छ यो ठाउँको बारे कसैलाई पनि थाह छैन, म निश्चित छु की यो ठाउँ सपनामा मात्र देख्न सकिन्छ।

म डुल्दाडुल्दै एउटा ठुलो शहरमा आइपुगेँ जहाँ थुप्रै मानिसको बसोबास थियो। त्यहाँको ठूलो बजारमा धेरै नै भिड थियो, अजिब अजिबको धुनहरु कानको झली नै फुटाउला जसरी घन्की रहेको थियो। म बजार तिर फर्किएको एउटा सरायमा पुगेँ र त्यहाँको घरधनिलाई सोधें, किन यति धेरै मानिस जम्मा भएका…

– हामी शान्त र इजत्दार मानिस हौँ – उसले आफ्नो कथा आरम्भ गर्यो – हामी मुखियाप्रति वफादार र आज्ञाकारी छौँ।

– मुखिया यहाँको सर्वोच्च अधिकारी त होइन होला, कि हो? – उसका कुरा अवरोध गर्दै मैले सोधेँ।

– यहाँ मुखियाले शासन गर्नुहुन्छ र उनी नै हाम्रो सर्वोच्च अधिकारी हुन्; प्रहरी त पछि आउँछ।

म हाँसे।

– तिमी किन हाँसेको?… के तिमीलाई थाहा थिएन?… तिमी कहाँबाट आयौ?

मैले उसलाई आफूले बाटो बिराएको र म निकै टाढाको भूमि – सर्बियाबाट आएको बताएँ।

– मैले त्यो प्रख्यात देशको बारे सुनेको छु! – घरधनी आफैसँग बरबराए, मलाई इज्जतका साथ हेरे अनि ठूलो स्वरले बोले:

– यो हाम्रो आफ्नै तरिका हो, – उ बोल्दै गयो, – मुखियाले आफ्ना प्रहरीहरु लिएर यहाँ शासन गर्छन।

– यहाँका प्रहरीहरु कस्ता छन्?

– खास, यहाँ धेरै प्रकारका प्रहरीहरु छन् – आफ्ना तह अनुसार विभाजित छन्। यहाँ कोहि उच्चस्तरमा त कोहि निम्नस्तरमा विभाजित छन् … थाहा छ तिमीलाई? हामी शान्त र इजत्दार ब्यक्ति हौँ तर छिमेकका विभिन्न किसिमका डुलुवाहरु यहाँ आउँछन्, हामीलाई बिगार छन् र खराब कुराहरु सिकाउँ छन्। अरु मान्छेहरु बिच हाम्रा नागरिकहरु चिन्नको लागि मुखियाले हिजो आदेश दिएका छन् कि हाम्रा हरेक नागरिकहरु स्थानिय अदालतमा गई, आफ्ना निधारमा छाप लगाउनु पर्छ। यसै कारण यहाँ यति धेरै मानिसहरुको जमघट छ: अब के गर्ने भनि सल्लाह गर्न।

म सिरिङ्ग भएँ र सोचें यस्तो अनौंठो ठाउँबाट सकेसम्म जति सक्दो चाँडो भाग्नुपर्छ किनेकी म सेर्बियन् भएपनि, यस्तो चालचलनको प्रदर्सनसँग मेरो लगाब छैन र मलाई यो कुरा अलि चित्त बुझेन।

– ए, यात्री, के यति कुराले नै तर्सियौ? यसमा आश्चर्य छैन, तिमीलाई हाम्रो जस्तो शाहस पाउनको लागि अझै लामो बाटो हिड्नुपर्छ।

– अनि के चाहिँ गर्न खोज्दै छौ? मैले डराउँदै सोधेँ।

– यो कस्तो प्रश्न! तिमीले देख्ने छौ हामी कतिको बहादुर छौँ भनेर। तिमीलाई हाम्रो जस्तो शाहस पाउन त अझै धेरै लामो बाटो हिड्नुपर्छ। तिमीले निकै टाढा अनि थुप्रै ठाउँको यात्रा गर्यौ र यो दुनिया देख्यौ, तर म निश्चित छु, तिमीले हामी भन्दा ठूला नायकहरु कहिँ पनि देखेको छैनौ। हामी त्यहाँ सँगै जाऔं। मैले हतार गर्नु पर्छ।

हामी निस्किनै लाग्दा, हामीले ढोका अगाडी कोर्राको स्वाँट सुन्यौं।

मैले बाहिर च्याएर हेरेँ: त्यहाँ निहार्न दृष्य थियो – शिरमा चम्किलो तीन सिङ्गे टोपी लगाएको, भद्दा सूट पहिरेको एउटा मान्छे, साधारण नागरिक झल्काउने एकदम महँगो पोशाक पहिरेको अर्को मान्छे पछाडी सवार थियो। उ सराय अगाडी रोकियो र सवार त्यहाँ ओर्लियो।

घरधनी बाहिर गयो, भुइँ तिर झुक्यो, र भद्दा सूट लगाएको मान्छे सराय भित्र गयो, विशेष गरी सृंगारिएको टेबल तर्फ। नागरिक पोशाक लगाएको मान्छे सराय अगाडी नै पर्खी बस्यो। घरधनी उसको अगाडी पनि झुक्यो।

– यो सब के हो? – मैले घरधनीलाई सोधेँ, एकदम अलमल्ल पर्दै।

– खास, सराय भित्र गएका उच्च तहका प्रहरी हुन्, र यी व्यक्ति भने उच्चस्तरका नागरिकहरु मध्य एक हुन्, धेरै धनी र महान देशभक्त – घरधनीले कानेखुसी गरे।

– किन उसले अर्कोलाई आफ्नो पछाडी सवार हुन दियो?

घरधनीले म तिर टाउको हल्लायो र हामी छेउतिर लाग्यौं। उसले चित्त नबुझ्दो मुस्कान दियो र भन्यो:

– हामी यसलाई ठुलो सम्मानका रुपमा लिन्छौं जसको हामी विरलै योग्य हुन्छौँ। -उसले मलाई अरु थुप्रै कुराहरु पनि भन्यो, तर म यति उत्सुक थिएकी मैले सबै कुरा समात्न सकिन। तर मैले अन्तिममा एउटा कुरा प्रष्ट सुने: – यो एक देशको सेवा हो जुन सबै राष्ट्रहरूले अझ कदर गर्न सिकेका छैनन्!

हामी बैठकमा आएका थियौं र अध्यक्षको छनौटको लागि चुनाव सुरु भइसकेको थियो।

यदि मलाई नाम ठीकसँग याद छ भने, अध्यक्षको उम्मेदवारको रूपमा; पहिलो समूहले कोल्ब भन्ने मानिस राख्यो, दोस्रो समूह ताल्ब चाहन्थ्यो, र तेस्रोको आफ्नै उम्मेद्वार थियो।

त्यहाँ डरलाग्दो भ्रम थियो; प्रत्येक समूहले आफ्नै मान्छे राख्न चाहान्थे।

– मलाई लाग्छ कि हामीसँग यस्तो महत्त्वपूर्ण बैठकको कुर्सीको लागि कोल्ब भन्दा राम्रो मानिस अरु छैन, – पहिलो समूहबाट आवाज उठ्यो, – किनभने हामी सबैलाई राम्ररी थाहा छ, एक नागरिकको रूपमा उसका गुणहरू र उसको ठूलो साहस। मलाई लाग्दैन कि यहाँ हामी मध्ये कोही छ जसले वास्तवमै महत्वपूर्ण व्यक्तिहरूको सवार बारम्बार भएकोमा गौरब गर्न सक्छ…

– यसको बारेमा कुरा गर्न तपाईं को हो र? – दोस्रो समूहबाट कोहि चिच्यायो – तपाईंलाई तल्लो दर्जाको प्रहरी कर्मचारीले समेत सवार दिएको छैन!

– हामीलाई थाहा छ तपाईंका गुणहरु के हो, – तेस्रो समूहबाट कोहि चिच्यायो। – तपाईंले बिना रोदन कोर्राको एक स्वाँट पनि सहन सक्नु हुन्न।

दाजुभाइहरू! सीधा कुरा गरौं – कोल्बले भन्यो – यो सत्य हो कि दस वर्ष जस्तै पहिले प्रतिष्ठित व्यक्तिहरू मेरो पीठमा सवार थिए; तिनीहरूले मलाई कोर्रा लगाए र म कहिले रोइन, तर हामी मध्ये पनि धेरै योग्य मानिसहरु हुन सक्छन्। जवान उमेरका पनि त उत्कृष्ट हुन सक्छन्।

– हुदैन, हुदैन – उनका समर्थकहरू कराए।

– हामी मिति समाप्त भई सकेका सम्मानहरुको बारेमा सुन्न चाहन्नौँ। कोल्ब माथि सवार भएको दश बर्ष भइसक्यो – दोस्रो समूहका आवाजहरू कराए।

– जवान रगत उडाउँदै छन्, पुराना कुकुरहरूलाई पुरानै हड्डीहरू चपाउन दिनुहोस् – तेस्रो समूहबाट कोही बोल्छ।

– अचानक त्यहाँ केहि आवाज थिएन; एउटा मार्ग खाली गर्नका लागि मान्छेहरु पछाडी, दायाँ र बायाँ सर्न थाले र मैले तीस उमेर जतिको जवान व्यक्ति देखेँ। उहाँ नजिक पुग्दा, सबै टाउको निहुरिए।

– उहाँ को हो? – मैले घरधनीलाई कानेखुशी गर्दै सोधेँ।

– उहाँ लोकप्रिय नेता हुनुहुन्छ। एक जवान मानिस, तर धेरै आशाजनक। आफ्नो शुरुआती दिनमा उनले तीनपटक मुखियालाई आफ्नो ढाड पछाडी बोकेकोमा गर्व गर्न सक्थ्ये। उहाँ अरू कोही भन्दा धेरै लोकप्रिय हुनुहुन्छ।

– तिनीहरूले सम्भवतः उनलाई नै छान्छन्? – मैले सोधपुछ गरेँ।

– त्यो पक्का निश्चित नै छ, किनकि अन्य सबै उम्मेद्वारहरू – तिनीहरू सबै पाको उमेरका छन्, उनीहरू समय भन्दा धेरै पछाडी परिसके, जबकि मुखिया हिजो उनको पीठमा केहि समयको लागि सवार भए।

– उसको नाम के हो?

– क्ल्यर्द।

तिनीहरूले उहाँलाई सम्मान दिए।

– मलाई लाग्छ, – कोल्बको आवाजले मौनता छायो – कि हामी क्ल्यर्दभन्दा राम्रो मानिस यस पदको लागि पाउने छैनौँ। उनी जवान छन्, तर हामी पाको मध्य कोही पनि उनको बराबरी छैनौँ।

– सुन, सुन!… क्ल्यर्दको जय होस्!… सबको आवाज गर्जियो।

कोल्ब र ताल्बले उनलाई अध्यक्षको पदमा लगे। सबैजनाले आफ्ना शिर झुकाएर, र त्यहाँ पूर्ण मौनधारण थियो।

– धन्यवाद दाजुभाइहरु, तपाईहरुको उच्च सम्मान र यो इज्जतको लागि, तपाईहरुले जुन मलाई सर्वसम्मतिले प्रदान गर्नुभयो। तपाईका आशाहरू, जो अब ममा निर्भर छन्, प्रशंसाले भरिपुर्ण छन्।

यस्तो महत्त्वपूर्ण दिनहरूका साथ देशको ईच्छाको जहाजलाई चलाउन सजिलो छैन, तर म तपाईंहरुको विश्वासलाई प्रमाणित गर्न मेरो शक्तिले भ्याएको जति सबै गर्नेछु, ईमानदारीसाथ तपाईंहरुको राय प्रतिनिधित्व गर्न, र तपाईहरुको उच्च सम्मान योग्य हुन। धन्यवाद मेरा दाजुभाइहरु, मलाई छान्नु भएकोमा।

– र अब, दाजुभाइहरु, म आशा गर्छु तपाईंहरु मलाई यो महत्त्वपूर्ण दिनबारे केहि शब्द बोल्न अनुमति दिनुहुन्छ। यस्तो दु: ख भोग्नु सजिलो छैन, यस्ता सास्तीहरु अझै आउनेछन् ; एउटाको निधारमा तातो फलामको छाप लगाउनु सजिलो छैन। वास्तवमै होईन, – ती दुखाइ हुन् जुन् सबै मानिसले सहन सक्दैनन्। डरपोकलाई डरले काम्न दिनुहोस्, उनीहरू डराएर डराउन्, तर हामीले यो बिर्सनु हुँदैन कि हामी वीर बहादुर पुर्खाहरूका छोराहरू हौं, महान रगत हाम्रो रगमा दौडन्छ, हाम्रा हजुरबा हजुरआमाको वीर रगत, ती वीर योद्धाहरू जो स्वतन्त्रताको लागि र हामी सबैको भलाइको लागि, आफ्नो सन्तानको लागि बिना संकोच मर्दछन्। हाम्रो दु: ख त् कमै हो, यदी उनीहरुको भोगाई सोच्ने हो भने – हामी पहिलेको भन्दा अझ राम्रा जीवनशैलीमा बाँच्दै गर्दा, के अब आएर पतित र डरपोक जातका सदस्यहरू जस्तो व्यवहार गर्ने छौं? प्रत्येक साँचो देशभक्त, जसले हाम्रो राष्ट्रलाई सारा विश्वको अगाडि लाजमा पार्न चाहँदैन, उसले मर्द र वीर नायकले जस्तै कष्ट सहने छ।

– हुर्रे! हुर्रे! हुर्रे! – मतदाताहरु कुना कुनाबाट गर्जिए।

– सुन, सुन!… क्ल्यर्दको जय होस्!

क्ल्यर्द पछि, त्यहाँ धेरै उत्कृष्ट वक्ताहरू थिए; तिनीहरूले डराएकाहरूलाई प्रोत्साहित गरे र क्ल्यर्दको भनाईलाई धेरैथोरै फेरी दोहोर्याए।

त्यसपछि एउटा थकित, अनुहार चाउरी परेको, कपाल र दाह्री हिउँ जस्तो सेतो भएको बृद्धले बोल्न अनुमति मागे। उनको घुँडा वयस्कसँगै थरथर काम्दै थियो, उसका हातहरू काम्दै थिए, ढाड कुप्रेको थियो। उनको आवाज थरथर काँमेको थियो र आँखा आँसुले भरिपूर्ण थिए।

– बच्चाहरू, – उनले शुरू गरे, उनको अनुहारबाट आँसु झर्दै चाउरी परेकोको गाला र उसको सेतो दाह्रीमा खसे – म दयनीय र मर्न लागेको अवस्तामा छु, तर मलाई लाग्छ तिमीहरुले त्यस्तो लाज नमान्नु नै राम्रो थियो। म सय वर्षको भएँ, र मैले यो बिना नै आफ्नो सम्पूर्ण जीवन बिताएको छु! तर अहिले आएर गुलामीको चिनो किन अब मेरो सेतो र थकित टाउकोमा छाप्नु पर्यो?…

– तल झार त्यो पाको बुदालाई – अध्यक्ष कराए।

– झार त्यसलाई – अरु पनि चिच्याए।

– कायर बुढा!

– बरु युवालाई प्रोत्साहित गर्नुको सट्टा, झन् सबैलाई तर्साउँदै छ!

– उ आफ्नो खैरो कपालप्रति लज्जित हुनुपर्छ! उ लामो समयसम्म बाँच्यो छ तर उ अझै डराउँछ – हामी जवान नै बढी साहसी छौं…

– तल झार कायरलाई!

– त्यसलाई बाहिर फ्याक!

– तल झार त्यसलाई!

साहसी देशभक्त युवाको एक क्रोधित भीड ती वृद्ध मानिसमाथि दौडिए र उनीहरूले रिसमा धक्का दिन, तान्न र लात हाल्न थाले।

तिनीहरूले अन्ततः उसको उमेरका कारण उसलाई जान दिए – नत्र तिनीहरूले उसलाई जिउँदै गाड्थ्ये।

उनीहरू सबैले भोलिदेखि बहादुर बन्ने र आफू आफ्नो देशको सम्मान र गौरवको लागि योग्य हुने वचन दिए।

मानिसहरू उत्कृष्ट क्रममा बैठकबाट टाढिए। छुट्टिने क्रममा उनीहरूले भने:

– भोलि हामी देख्नेछौँ, को कस्तो छ!

– गफाडीहरुलाई हामी भोलि छान्ने छौं!

– योग्यको लागि अयोग्यबाट आफूलाई छुट्याउने समय आएको छ, ताकि प्रत्येक बदमाशले आफ्नो बहादुर हृदय रहेको झुटो गफ दिन सक्नेछैन!

– म सरायमा फर्किएँ।

– तिमीले देख्यौ हामी केले बनेका छौं? – मेरो घरधनीले गर्वका साथ मलाई सोधे।

– वास्तवमै मैले देखें, – मेरो शक्तिले मलाई त्यागि रहेको र मेरो मस्तिस्क अनौठो छापले गुञ्जि रहेको अनुभव गर्दै, मैले अन्जानमै जवाफ दिएँ।

त्यो दिन मैले उनीहरूको पत्रिकामा एउटा अग्रणी लेख पढें जुन यस प्रकार छ:

– नागरिकहरू, हामी बीचमा यो बेकारको घमण्ड र देखावटी रोक्ने समय आएको छ; अर्थहिन शब्दलाई सम्मान गर्नबाट रोक्ने समय आएको छ जुन हामी हाम्रो काल्पनिक सद्गुण र मरुभूमि प्रदर्शन गर्न भ्रममा प्रयोग गर्दछौं। समय आइसकेको छ, नागरिकहरू, हाम्रो शब्दहरू परीक्षण गर्ने र वास्तवमै को योग्य छ र को छैन भनेर चिनाउने! तर हामी विश्वास गर्छौं कि हामी बीचमा कुनै लाजमर्दो डरपोक हुनेछैन जसलाई नियुक्त गरिएको ठाउँमा बलपूर्वक ल्याउनुपर्नेछ। हामीमध्ये हरेक जना जसले आफ्नो नसामा महान पुर्खाको रगत महसुसु गर्दछ, उ यो पवित्र पीडाको लागि गौरवका साथ चुपचाप दुःख र कष्ट सहने पहिलो व्यक्ति हुन संघर्ष गर्दछ, यो हाम्रो देशको भलाइ र हामी सबैको भलाइको लागि बलिदान हो। अगाडि बढ, नागरिकहरू, भोलि महान परीक्षाको दिन हो!…

अर्को दिन तोकिएको ठाउँमा सकेसम्म चाँडो पुग्न मेरो घरधनी बैठक पछि सिधै सुत्न जानुभयो। यद्यपि, धेरै जना भने, भोली आफू पंक्तिमा अगाडी हुनको लागि सिधा शहरको हलमा गएका थिए।

अर्को दिन म पनि शहरको हलमा गएँ। त्यहाँ सबैजना थिए – जवान र बुढा, पुरुष र महिला। केही आमाहरूले आफ्ना साना बच्चाहरूलाई आफ्ना पाखुरामा ल्याए ताकि तिनीहरू पनि दासत्वको चिन्नले छापिउन्, त्यो सम्मानको कुरा हो, र त्यसैबाट निजामती सेवामा उच्च पद पाउन अझ बढी अधिकार प्राप्त गर्न सकुन्।

त्यहाँ धक्का र शपथ थियो (यो कुरामा तिनीहरू हामी सर्बहरू जस्तै थिए, र यसमा म अलि खुशी थिएँ), र सबैजना ढोकामा पहिलो हुन प्रयास गर्दै थिए। कोहि त अझ अरुहरुको ठाउँ पनि हडप्दै थिए।

सेता, औपचारिक सूट लगाएका एक विशेष सरकारी कर्मचारीद्वारा छाप लगाइएको थियो, जो नम्रतापूर्वक मानिसहरूलाई निन्दा गर्दै थियो:

– भगवानको खातिर, गनगन नगर्नुस्, सबैको पालो आउनेछ – तपाईंहरु जनावर हुनुहुन्न, म मान्दछु कि हामी शोक नगरी व्यवस्थापन गर्न सक्दछौं।

छपाईँ शुरू भयो – एकजनाले चिच्यायो, अर्कोले विलाप मात्र गर्यो, तर म त्यहाँ हुनु जेल आवाज ननिकाली यो सहन सक्षम कोहि थिएन।

यो यातना मैले लामो समयसम्म हेर्न म सकिन, त्यसैले म सराय फर्कें, तर कोही-कोही पहिलै त्यहाँ पुगेर खानपिन गर्दै थिए।

– त्यो सकियो! – ती मध्ये एकले भन्यो।

– ठिक छ, हामी वास्तवमै चिच्याएनौं, तर ताल्ब गधाले जस्तो कराई रहेको थियो!… – अर्कोले भन्यो।

– तपाईले देख्नु भयो नि तपाईको ताल्ब कस्तो रहेछ, र तपाई उसलाई हिजो बैठकको अध्यक्षको रुपमा राख्न चाहानुहुन्थ्यो।

– अँ, तपाईंलाई कहाँ थाहा हुन्छ र!

तिनीहरू बोले, पीडा र हठी साथ विलाप लिईरहे, तर एक अर्काबाट लुकाउन कोशिस गर्दै थिए, किनकि प्रत्येकले आफू डरपोक सोच्दा लाज लाग्छ।

क्ल्यर्दले आफैलाई बदनाम गर्यो किनभने उ कराइरहेको थियो, र लियर नाम गरेको मानिस एक नायक थियो किनकि उसले आफ्नो निधारमा दुईवटा चिन्ह छाप्यो र कहिल्यै पीडाको आवाज दिएन। सबै शहरले उसको बारेमा ठूलो सम्मानका साथ कुरा गरिरहेको थियो।

केही मानिसहरू भागेर गए, तर तिनीहरुलाई सबैले घृणा गरे।

केही दिन पछि, त्यो व्यक्ति जसले निधारमा दुईवटा छाप लगाएका थियो, उ शिर माथि उठाएर हिंड्यो, सम्मान र आत्मसम्मान संग, महिमा र गर्वले भरिपूर्ण, र जहाँ जहाँ उ गयो, त्यो दिनको नायकलाई सलाम दिन सबै निहुरिए र आफ्नो टोपी फुकाले।

पुरुष, महिला र केटाकेटीहरू राष्ट्रको महान मानिस हेर्न सडकमा उसको पछिपछि कुदे। उ जहाँ जहाँ गयो, प्रेरणाले भरिएको गनगनले उसलाई पछ्यायो: ‘लियर, लियर!… त्यो उहाँ हो!… त्यो नायक हो जसले आफ्ना निधारमा दुईवटा चिन्ह छाप्दा पनि रुएनन्, आवाज पनि निकालेनन् !’ उ अखबारको शीर्षकमा थियो, प्रशंसा र महिमाले भरिपुर्ण। र उ मानिसहरूका माया पाउन योग्य थियो।

– जताततै म यस्तो प्रशंसा सुन्दैछु, र मेरो नसामा पुरानो, महान सर्बियाई रगत बगिरहेको महसुस गर्न थाल्छु, हाम्रा पुर्खाहरू नायक थिए, उनीहरू स्वतन्त्रताको लागि तीरहरुमा रोपिएर मरे; हामीसँग पनि हाम्रो वीरताको इतिहाँस र हाम्रो कोसोभो छ। म मेरो राष्ट्रको गर्व र अहंकारले उत्साहित हुन्छु; मेरो नस्ल कत्ति बहादुर छ भनेर देखाउन र शहरको हलतिर दौडेर गएर सुनाउन:

– तिमीहरु किन लियरको प्रशंसा गर्छौ?… तिमीहरुले कहिल्यै साँचो नायकहरू देखेका छैनौ! आउ र आफै हेर यो महान सर्बियाई रगत कस्तो छ! मेरो टाउकोमा दसवटा छाप लगाई देउ, दुई मात्र होइन!

सेतो सूटमा सरकारी कर्मचारीले उसको छाप मेरो निधारमा ल्यायो, र मैले सुरु गरें… म मेरो सपनाबाट ब्यूँझें।

मैले डरले आफ्नो निधार पुसें, मेरा सपनाहरुमा देखा पर्ने अनौठो चीजहरुमा आश्चर्य पर्दै।

– मैले झन्डै उनीहरुको लियरको महिमालाई बढि छायांकन गरें। – मैले सोचें र सन्तुष्ट भए, फर्किए, र मलाई अलि दु: ख लागेको थियो कि मेरो सपना अन्त्यसम्म पुगेन।

 

बेलग्रेडमा, १८९९|
“रादोये डोमानोभिक” परियोजनाको लागि दिपक रावत द्वारा अनुवादित, २०१९|

Ознаке:, , , , , , , , , , , , , , , , , , ,

About Домановић

https://domanovic.wordpress.com/about/

Оставите одговор

Попуните детаље испод или притисните на иконицу да бисте се пријавили:

WordPress.com лого

Коментаришет користећи свој WordPress.com налог. Одјавите се /  Промени )

Слика на Твитеру

Коментаришет користећи свој Twitter налог. Одјавите се /  Промени )

Фејсбукова фотографија

Коментаришет користећи свој Facebook налог. Одјавите се /  Промени )

Повезивање са %s

%d bloggers like this: